अम्बिका वाईवा
निर्मल लामाको २६औँ स्मृति दिवसका अवसरमा नेपाली कम्युनिस्ट पार्टी सर्लाहीद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रम आज लालबन्दीस्थित निर्मल लामा स्मृति प्रतिष्ठानको भवनमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
आज मिति २०८३ साल वैशाख २७ गते दिउँसो १ बजे आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न राजनीतिक व्यक्तित्व, कार्यकर्ता तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नारायणकाजी श्रेष्ठले निर्मल लामालाई नेपाली कम्युनिस्ट आन्दोलनका इमानदार, अध्ययनशील र वैचारिक नेताका रूपमा स्मरण गरे। उनले निर्मल लामाले कठिन राजनीतिक परिस्थितिमा पनि जनताको पक्षमा अडिग भएर संघर्ष गरेको उल्लेख गर्दै नेपालको वाम आन्दोलनलाई संगठित र वैचारिक रूपमा बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
श्रेष्ठले निर्मल लामाको राजनीतिक जीवन त्याग, निष्ठा र जनताप्रतिको समर्पणले भरिएको उल्लेख गर्दै वर्तमान पुस्ताले उहाँको विचार र संघर्षबाट प्रेरणा लिनुपर्ने धारणा राखे। उनले समाजवाद र सामाजिक न्यायको पक्षमा निर्मल लामाले उठाएका मुद्दाहरू आज पनि सान्दर्भिक रहेको बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले समेत निर्मल लामाको योगदानको चर्चा गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए।

