काठमाडौं,
पन्त स्मृति प्रतिष्ठान–२०५८ ले साहित्य, कला, संस्कृति तथा पत्रकारिताको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । प्रतिष्ठानको रजत जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान को लेखनाथ सभाहलमा आयोजित कार्यक्रममा विभिन्न विधाका स्रष्टा तथा कलाकारलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वराजदूत प्रा डा जयराज आचार्य ले सम्मानित प्रतिभाहरूलाई पुरस्कार प्रदान गर्दै साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले राजनीतिक कार्यक्रमभन्दा साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुँदा आत्मिक आनन्द मिल्ने अनुभव समेत सुनाउनुभयो ।
उहाँले सम्मानित व्यक्तित्वहरूको सिर्जना र योगदानको प्रशंसा गर्दै कलाकार सुमना थापा, रसिक राई तथा मनोज गजुरेल जस्ता प्रतिभाहरूले नेपाली कला क्षेत्रलाई समृद्ध बनाएको उल्लेख गर्नुभयो । साथै, बाल साहित्यको महत्व औँल्याउँदै नेपालमा छुट्टै बाल साहित्य एकेडेमी स्थापना गर्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति तथा प्रतिष्ठानकी अध्यक्ष इन्दू पन्त ले पूर्वजहरूको स्मरणमा स्थापित प्रतिष्ठानले ओझेलमा परेका प्रतिभाहरूलाई खोजी गरी सम्मान गर्दै आएको बताउनुभयो । उहाँले प्रमुख अतिथि प्रा डा जयराज आचार्यको शैक्षिक तथा कूटनीतिक योगदानको समेत चर्चा गर्नुभयो ।
कार्यक्रममा उपन्यासकार तथा पत्रकार कमल रिजाल लाई ‘रामराज पन्त स्मृति सम्मान’, हास्यव्यंग्य कलाकार मनोज गजुरेल लाई ‘गोपालराज पन्त स्मृति सम्मान’, कलाकार रसिक राई लाई ‘सीताश्री स्मृति सम्मान’, साहित्यकार गोपी मैनाली लाई ‘टीका–मुकुन्द पन्त स्मृति सम्मान’ तथा बाल साहित्यकार कार्तिकेय घिमिरे लाई ‘सुशीला पन्त स्मृति बाल साहित्य सम्मान’ प्रदान गरिएको थियो ।
त्यस्तै, अपाङ्गता तथा समाजसेवाको क्षेत्रमा योगदान पुर्याएकी समीक्षा घिमिरे लाई ‘आमा इन्दिरा पन्त स्मृति सम्मान प्रतिभा पुरस्कार’ तथा ‘हाम्रो पुरुषार्थ’ पत्रिकाका सम्पादक शशी पन्थी लाई ‘इन्दिरा–बन्धु पन्त स्मृति सम्मान’ प्रदान गरिएको थियो । गोपालराज पन्त स्मृति सम्मान र इन्दिरा–बन्धु स्मृति सम्मानमा ५० हजार रुपैयाँ तथा अन्य पुरस्कारमा २५ हजार रुपैयाँ नगद राशी रहेको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारहरू वीणा पौड्याल, रोचक घिमिरे, रामप्रसाद पन्त, ठाकुर शर्मा भण्डारी, माणिकरत्न शाक्य तथा वरिष्ठ कलाकार राधेश्याम मुल्मी लाई विशेष अभिनन्दन गरिएको थियो ।
कार्यक्रमको प्रारम्भमा प्रतिष्ठानका सदस्य सचिव अन्जु पन्त ले प्रतिष्ठानका गतिविधिबारे जानकारी दिँदै सहभागीहरूलाई स्वागत गर्नुभएको थियो । प्रतिष्ठानले विभिन्न विद्यालयमा छात्रवृत्ति वितरण कार्यक्रम समेत सञ्चालन गर्दै आएको जानकारी दिइएको थियो ।
— तीर्थ भट्टराई

