काठमाडौँ । बजारमा बढ्दो अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ सुरु गर्न लागिएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको मूल्यवृद्धिको समस्या समाधान गर्न अभियान सञ्चालन गर्न लागिएको हो । सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
दाहालले सबै सरोकारवाला निकाय, नागरिक समाज र सञ्चारकर्मीलाई अभियानमा सहयोग गर्न तथा बजार अनियमितताबारे खबरदारी गर्न आग्रह गरेका छन् ।
विशेष अभियान आजदेखि सुरु भई जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका निकायलाई अभियान कार्यान्वयनका लागि निर्देशन दिइसकेको जनाएको छ ।
अभियान सफल बनाउन गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेशका मुख्यमन्त्री कार्यालय तथा स्थानीय तहलाई समेत आवश्यक निर्देशन दिइएको छ ।
स्थानीय तहदेखि केन्द्रसम्मको सक्रियता
अभियानअन्तर्गत प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका वस्तु तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्यसूची राख्न आग्रह गर्दै नियमित अनुगमन गर्नेछन् भने जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताबारे प्रचारप्रसार गर्ने र नियमन प्रभावकारी बनाउने जिम्मेवारी दिइएको छ । त्यसैगरी, केन्द्रीय तथा प्रदेश बजार अनुगमन समितिले बजार मूल्याङ्कन, अनुगमन टोली परिचालन तथा नियम उल्लङ्घन गर्नेमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउनेछन् ।
किन आवश्यक बन्यो अभियान ?
बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा उपभोक्ता ठगिने गुनासो बढेपछि सरकारले यो अभियान सुरु गर्न लागेको हो ।
सरकारले बजारमा उपलब्ध वस्तु तथा सेवाको मूल्यमा स्पष्टता र पारदर्शिता ल्याउने, व्यापारी तथा सेवा प्रदायकलाई जवाफदेही बनाउने, अनिवार्य मूल्यसूची व्यवस्था लागू गर्ने र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउँदै दोषीमाथि तत्काल कारबाही सुनिश्चित गर्ने लक्ष्यका साथ यो अभियान सञ्चालन गरिएको जनाईएको छ ।

