काठमाडौँ- आइतबारको बेमौसमी वर्षापछि आएको बाढीका कारण उदयपुरको कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्धिचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा बन्द भएको हो । बाढीले सडकमा क्षति पुर्याएपछि सवारी आवागमन प्रभावित बनेको प्रहरीले जनाएको छ ।
यस्तै, काभ्रेपलाञ्चोकअन्तर्गत सिन्धुली–खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी हुँदै सञ्चालन हुने विपी राजमार्ग क्षेत्रमा सम्भावित बाढी र जोखिमलाई ध्यानमा राख्दै रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ ।
प्रहरीका अनुसार वैशाख २१ गते बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको थियो । थप बेमौसमको बर्षाले सडकमा क्षती भएपछी सतर्कता अपनाउन प्रहरीले थप कडाई गरेको हो ।
सुरक्षाका दृष्टिले वैकल्पिक मार्ग प्रयोग गर्न तथा मौसमसम्बन्धी सूचनामा सतर्क रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

