-जयराम बिडारी
असार ४,काठमाडौँ
जरा फाउन्डेसन नेपाल र शान्ति साहित्य परिवारको संयुक्त आयोजनामा राजधानीमा एक विशेष साहित्यिक समारोह सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई विशेष सम्मान गरिनुका साथै गजलकार सावित्री गिरी ‘सुकु’को नवीन गजलसङ्ग्रह ‘छाल ओढेर’ माथि परिचर्चा र बहुभाषिक गजल प्रस्तुति समेत गरियो ।
फाउन्डेसनका अध्यक्ष एवं प्रखर साहित्यकार कृष्ण प्रसाईको अध्यक्षता तथा वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
राष्ट्रिय धुन र दीप प्रज्वलन गरी सुरु गरिएको उक्त कार्यक्रममा शान्ति साहित्य परिवारका अध्यक्ष कृष्णराज अधिकारीले स्वागत मन्तव्यका साथ संस्थागत गतिविधि बारे प्रकाश पारेका थिए । मन्तव्यका क्रममा उनले साहित्य समाजको ऐना भएको र यसले मानवीय सेवामा महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए । यसै गरी, कवि प्रज्वल अधिकारीले ‘जरा फाउन्डेसन’को ऐतिहासिक पृष्ठभूमिमाथि प्रकाश पार्दै वि.सं. २०४६ देखि साहित्यिक यात्रा सुरु गरी २०७२ मा दर्ता भएर यस संस्थाले ओगटेको आयाम र साहित्यिक उत्थानमा पुर्याएको योगदानबारे चर्चा गरे ।
उक्त अवसरमा गजलकार सावित्री गिरी ‘सुकु’को गजलसङ्ग्रह ‘छाल ओढेर’ कृति उपर परिचर्चा गरिएको थियो । संग्रहको समीक्षा गर्दै समीक्षक सुधीर ख्वविले कृतिभित्र संग्रहित १०१ वटा गजलहरूले जीवनका यथार्थ, संघर्ष र भावनालाई कलात्मक रूपमा समेटेको बताए गजलमा काफिया र रदिफको सन्तुलित प्रयोग निकै सुन्दर रहेको चर्चा गर्दै उनले यी गजलहरूमा आत्मपरकता र जीवनका भोगाइहरू जीवन्त रूपमा आएको उल्लेख गर्दै सुधार गर्नुपर्ने कतिपय पाटोमा ध्यान दिन सुझाए ।
सो अवसरमा नेपाली, हिन्दी र उर्दू भाषाका गजलहरूको विशेष प्रस्तुतिले हललाई गुञ्जायमान बनाएको थियो । कार्यक्रममा गजलकारहरू देवेन्द्र केसी ‘देबु’, मुमताज अन्जुम, तबासुर मिकरानी, बिटु केसी, फुरकान फैजी, शीतल कादम्बिनी, समा श्री, दिया गिरी, सुमित्रा सुमी र नानीबाबा अधिकारी लगायतले सुकुकृत उत्कृष्ट गजलहरू वाचन गरेका थिए । कार्यक्रममा गजल वाचन गरिएका गजलकारहरूलाई विभिन्न अतिथिहरूद्वारा मायाको चिनो प्रदान गरिएको थियो ।
सो अवसरमा कार्यक्रमकी प्रमुख अतिथि तथा वरिष्ठ गायिका ज्ञानु राणालाई आयोजकका तर्फबाट माला, दोसल्ला र सम्मान पत्रद्वारा विशेष सम्मान गरिएको थियो । प्रमुख अतिथि राणाले गजलकार सावित्री गिरीको लेखन यात्रा र समर्पणको प्रशंसा गर्दै ‘छाल ओढेर’ गजलसङ्ग्रह नेपाली गजल साहित्यका लागि एउटा महत्त्वपूर्ण प्राप्ति भएको धारणा व्यक्त गरिन् । उनले आफ्ना पिताजी जनकवि केशरी धर्मराज थापाको हात समाएर १४ वर्षको उमेरदेखि रेडियो नेपाल पुगेको पनि साठी वर्ष व्यतीत भइसकेको पत्तै नपाएको धारणा व्यक्त गरिन् । त्यही यात्राको निरन्तरता स्वरूप आज यो सम्मान प्राप्त गर्न सकेकी हुँ । यसको श्रेय सरस्वतीको कृपा र मातापिताको योगदानलाई जान्छ भन्दै आयोजकप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा वरिष्ठ गायक शिशिर योगी, भाषा आयोगका सदस्य मातृका पोखरेल, मदनराज थापा, मनोविद् निर्मला फुयाल र पत्रकार महेशजंग कुँवर लगायतले स्रष्टा गिरीको सिर्जनशीलता र कृतिको सफलताको कामना गर्दै आ-आफ्नो धारणा राखेका थिए ।
सिर्जना शर्माद्वारा सहजीकरण गरिएको कार्यक्रमको समापन गर्दै सभापति कृष्ण प्रसाईले उपस्थित सम्पूर्ण अतिथि, स्रष्टा र सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गरे । उनले जरा फाउन्डेसन सधैँ ओझेलमा परेका प्रतिभा र गुणस्तरीय साहित्यको प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।


