अन्तर्राष्ट्रिय मजदुर दिवस को अवसरमा Pushpa Kamal Dahalप्रचण्ड ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले श्रमिकहरूको सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिका लागि कामना गरेका छन्।
शिकागो, अमेरिकामा आठ घण्टा कार्यदिनको मागसहित मजदूरहरूले गरेको ऐतिहासिक संघर्षको स्मरण गर्दै उनले विश्वभर श्रमिक दिवस मनाइँदै आएको उल्लेख गरेका छन्। यस सन्दर्भमा उनले नेपालसहित विश्वभरिका श्रमजीवी वर्गप्रति दृढ ऐक्यबद्धता व्यक्त गरेका छन्।
दाहालले नेपाली कम्युनिष्ट पार्टी श्रमिक, किसान तथा सुकुम्बासीहरूको हक, हित र अधिकारको संरक्षणमा सदैव प्रतिबद्ध रहने बताएका छन्। श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा तथा श्रमिकमैत्री नीति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।
साथै, ट्रेड युनियन अधिकार तथा अन्तर्राष्ट्रिय श्रम अधिकारहरूको संरक्षणमा कुनै पनि प्रकारको संकुचनप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सरकारलाई जिम्मेवार र उत्तरदायी बन्न आग्रह गरेका छन्।
अन्त्यमा उनले नेपाल तथा विश्वभरिका सम्पूर्ण श्रमजीवी वर्गप्रति पुनः सम्मान, ऐक्यबद्धता र शुभकामना व्यक्त गरेका छन्।

