काठमाडौँ । विश्वकप क्रिकेटअन्तर्गतको दोस्रो श्रेणी प्रतियोगितामा आज नेपालले संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा अहिले बिहान ९ः३० बजे सुरु हुने खेलमा नेपालका कप्तान रोहित पौडेल तथा संयुक्त अरब इमिरेट्सका कप्तान मोहम्मद वासिम आ–आफ्नो टोलीको नेतृत्व गर्दै मैदान उत्रनेछन् ।
प्रतियोगिताको शीर्ष छभित्र रहँदै अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने लक्ष्यका साथ दुवै टोली जित निकाल्ने दबाबमा छन् । यही वैशाख २२ गतेसम्म सञ्चालन हुने शृंखलामा सहभागी तीनवटै टोलीले एकअर्काविरुद्ध दुई–दुई खेल खेल्ने तालिका रहेको छ ।
यसअघिका दुई खेलबाट नेपाल र संयुक्त अरब इमिरेट्सले समान एक–एक जित हात पारेका छन् । पहिलो भेटमा नेपालले संयुक्त अरब इमिरेट्सलाई ३७ रनले पराजित गरेको थियो । त्यसपछिको खेलमा भने नेपाल ओमानसँग १०२ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो ।
अब आइतबार ओमान र संयुक्त अरब इमिरेट्सबीच प्रतिस्पर्धा हुनेछ भने नेपालले आफ्नो अन्तिम खेल वैशाख २२ गते मंगलबार ओमानसँग खेल्नेछ । आजको खेल नेपालका लागि पुनः लय समात्दै आफ्नो सम्भावना बलियो बनाउने अवसरका रूपमा हेरिएको छ ।

