काठमाडौँ । नेपाल आयल निगमले इन्धनको नयाँ मूल्यसूची सार्वजनिक गर्दै खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ भने पेट्रोल र डिजेलको मूल्य घटाएको छ। बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निर्धारण गरिएको नयाँ मूल्यअनुसार अब पूर्ण सिलिन्डर एलपी ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको छ। त्यस्तै, आधा सिलिन्डर ग्यासको मूल्य १ हजार ८० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
यसअघि पूर्ण सिलिन्डर ग्यास २ हजार १० रुपैयाँ तथा आधा सिलिन्डर १ हजार ५ रुपैयाँमा बिक्री हुँदै आएको थियो। नयाँ समायोजनसँगै पूर्ण सिलिन्डरमा १ सय ५० रुपैयाँ र आधा सिलिन्डरमा ७५ रुपैयाँले मूल्यवृद्धि भएको छ।
यता, पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ भने डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले कमी गरिएको निगमले जनाएको छ। हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर ७ रुपैयाँले मूल्य बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँबाट हुने आपूर्तिमा प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले वृद्धि गरिएको छ।
नयाँ मूल्य समायोजनपछि दैनिक उपभोग्य वस्तुको ढुवानी खर्चदेखि सर्वसाधारणको भान्सासम्म प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ।

