काठमाडौँ । मानव सभ्यतालाई शान्ति, अहिंसा र करुणाको अमूल्य मार्गदर्शन दिने महामानव गौतम बुद्धको २५७०औँ जयन्ती आज देशभर तथा विश्वभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै छ । वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीले बुद्धको जन्म, ज्ञानप्राप्ति तथा महापरिनिर्वाण—यी तीनै महत्वपूर्ण घटनाको स्मरण गराउँछ ।
विश्वशान्तिका अग्रदूतका रूपमा सम्मानित सिद्धार्थ गौतमले मानव जीवनलाई दुःखबाट मुक्त गराउने मार्ग देखाउँदै सत्य, करुणा, मैत्री र अहिंसाको सन्देश प्रवाह गरेका थिए । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” भन्ने उनको जीवनदर्शन आज पनि विश्व समुदायका लागि उत्तिकै प्रेरणादायी मानिन्छ ।
यस अवसरमा बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार तथा पवित्र तीर्थस्थलहरूमा पुगेर पूजा, आराधना, प्रवचन तथा ध्यानमार्फत बुद्धप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । विशेषगरी लुम्बिनी, स्वयम्भूनाथ, बौद्धनाथलगायत स्थलमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती उल्लासपूर्वक मनाउने परम्परा रहेको छ ।
आजभन्दा २५७० वर्षअघि रुपन्देहीको पवित्र लुम्बिनी उद्यानमा राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रका रूपमा जन्मिएका सिद्धार्थ गौतम राजवैभवमा हुर्किए पनि मानव जीवनका दुःख, पीडा र असमानताले उनको मनलाई गहिरो रूपमा छोयो । यही चिन्तनले उनलाई २९ वर्षको उमेरमा राजसी सुखसुविधा त्यागेर सत्यको खोजीमा तपस्याको मार्गतर्फ डोर्यायो । पछि उनले प्राप्त गरेको ज्ञानले संसारलाई बुद्धत्वको प्रकाश दिएको इतिहास साक्षी छ ।
शान्ति, सहअस्तित्व र मानवताको पक्षमा बुद्धले दिएको सन्देश आजको अशान्त विश्वमा अझ सान्दर्भिक बनेको छ । बुद्ध जयन्ती केवल धार्मिक पर्व मात्र नभई मानवताका लागि शान्ति र सद्भावको साझा उत्सवका रूपमा स्थापित हुँदै आएको छ ।

