काठमाडौं । केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा शल्यक्रियामार्फत निकालिएको छ।
डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको चिकित्सकको टोलीले शल्यक्रिया गरी पित्तथैलीमा रहेको ढुंगा निकालेको हो। शल्यक्रियापछि उनलाई आईसीयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ।
चिकित्सकहरूका अनुसार ओलीको पित्तथैलीमा २२ एमएम आकारको ढुंगा रहेको थियो।
यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। पक्राउ परेकै दिनदेखि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।
ओली पक्राउ परेपछि उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।
सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो। तोकिएको समयभित्र अनुसन्धान नसकिएमा शर्तसहित रिहा गर्न आदेश दिँदै अदालतले मार्गनिर्देशन गरेको थियो।
सोही आदेशअनुसार प्रहरीले ओलीलाई अस्पतालबाट उनकी पत्नी राधिकाको जिम्मा लगाएको थियो।
थुनामुक्त भए पनि शल्यक्रिया आवश्यक भएकाले उनी अस्पतालमै थिए। उनको आज सोमबार मात्र शल्यकृया भएको हो ।

