काठमाडौं। नेपालको मौसम प्रणालीमा अहिले पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यही प्रभावका कारण देशभर मौसममा आंशिक परिवर्तन आएको हो।
हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम बदली रहेको छ भने अन्य पहाडी भू–भागमा आंशिक बादल लागेको छ। तराई क्षेत्रका अधिकांश जिल्लामा भने मौसम सामान्यतया सफा देखिएको छ।
आज हिमाली भेगमा बादलको प्रभाव अझ बढी रहने अनुमान गरिएको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा अन्य हिमाली भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।
यता तराई क्षेत्रमा भने घाम लाग्ने र मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्रमा हुने वर्षा र हिमपातका कारण तापक्रममा केही गिरावट आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

