काठमाडौं। अमेरिका र इरानबीच जारी द्वन्द्व समाधानका प्रयास असफल भएपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र उकालो लागेको छ। रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुजमा अमेरिकी नाकाबन्दीको तयारीसँगै सोमबार तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको हो।
इरानबाट हुने तेल आपूर्ति पूर्णरूपमा अवरुद्ध हुन सक्ने चिन्ताले लगानीकर्ता झस्किएका छन्, जसको सीधा असर अन्तर्राष्ट्रिय बजारमा देखिएको छ। लन्डनस्थित ब्रेन्ट क्रुड फ्यूचर ७.६० डलर (करिब ८ प्रतिशत) ले वृद्धि भई प्रतिब्यारेल १०२.८० डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (WTI) पनि ८.३१ डलर (८.६ प्रतिशत) ले बढेर १०४.८८ डलरमा कारोबार भइरहेको छ।
दुई साताको अस्थायी युद्धविरामपछि शान्ति सम्झौता हुने अपेक्षा गरिए पनि वार्ता निष्कर्षमा नपुगेपछि बजारमा पुनः अस्थिरता बढेको ऊर्जा क्षेत्रका विज्ञहरूले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी सुरु गर्ने घोषणा गरेका थिए। उक्त कदमले इरानसँग सम्बन्धित दैनिक करिब २० लाख ब्यारेल तेल आपूर्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ। साथै उनले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनसम्म तेल तथा ग्यासको मूल्य उच्च रहन सक्ने संकेत पनि दिएका छन्।
यसैबीच, युनाईटेड स्टेटस स Command का अनुसार इरानी बन्दरगाहबाट हुने समुद्री आवागमनमा रोक लगाउने प्रक्रिया सोमबार बिहानदेखि लागू भइसकेको छ।
उता, इरानको रिभोलुसनरी गार्ड्सले अमेरिकी कदमको कडा विरोध गर्दै हर्मुज क्षेत्रमा प्रवेश गर्ने कुनै पनि सैन्य जहाजलाई युद्धविराम उल्लंघनको रूपमा लिइने र त्यसको सशक्त जवाफ दिइने चेतावनी दिएको छ।

