काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार अग्रवाललाई बयानका लागि नियन्त्रणमा लिइएको हो। “बयानका लागि बोलाएका थियौं, उहाँ उपस्थित हुनुभएको छ,” ठाकुरले बताएका छन्।
विभागले अग्रवालविरुद्ध थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले उनलाई शुक्रबार राति नै पक्राउ गरेको जनाएको छ। यसअघि २०७६ सालमा पनि अग्रवाल थर्मल गन महँगो मूल्यमा बिक्री गर्न खोजेको आरोपमा पक्राउ परेका थिए। उक्त प्रकरणमा उनलाई पछि तारेखमा छाडिएको थियो।
यसैक्रममा शुक्रबार नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए। व्यापारी दीपक भट्ट पक्राउ परेसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसँग सम्बन्धित अन्य व्यक्तिमाथि अनुसन्धान तीव्र पारेको हो। सुलभ शंकरलाल अग्रवाल पुत्र हुन् ।
नेपालका अग्रणी व्यावसायिक घरानामध्ये एक मानिने शंकर ग्रुपको मुख्य कम्पनी जगदम्बा स्टिल हो। यस समूहले स्टिलसँगै सिमेन्ट, जलविद्युत् तथा उपभोग्य वस्तुको क्षेत्रमा समेत लगानी गर्दै आएको छ।

