काठमाडौं । उत्तरी अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ९ जनाको ज्यान गएको छ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार भूकम्पका कारण काबुल प्रान्तमा एक घर भत्किँदा त्यहाँ रहेका ९ जनाको मृत्यु भएको हो। सोही घटनामा एक बालक घाइते भएका छन्।
भूकम्पको धक्का राजधानी काबुलमा समेत महसुस गरिएको थियो, जसले स्थानीय बासिन्दामा त्रास फैलाएको छ।
प्रारम्भिक विवरणअनुसार भूकम्पको केन्द्रबिन्दु ३६.५५ डिग्री उत्तरी अक्षांश र ७०.८५ डिग्री पूर्वी देशान्तरमा रहेको जनाइएको छ भने यसको गहिराइ करिब १८६.४ किलोमिटर रहेको छ।
उक्त घटनापछि उद्धार तथा राहत कार्य तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्।

