सभामुखमा डोलप्रसाद अर्यालको औपचारिक अनुमोदनमा, संसद् बैठकमा निर्णायक एजेन्डा
काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ, जहाँ सभामुख पदमा डोलप्रसाद अर्यालको औपचारिक अनुमोदन प्रमुख एजेन्डाका रूपमा अघि बढाइँदैछ।
सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव पेस गरिनेछ।
यसअघि शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। उनको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल छन्।
आजको बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ। साथै, अर्यालको शपथग्रहण कार्यक्रम आजै दिउँसो ३ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।
त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे सिंहदरबारमै बस्नेछ। बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको मनोनयन तथा हेरफेर गर्ने कार्यक्रम रहेको छ। यससँगै, अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको नामसमेत तोकिनेछ।
कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

