काठमाडौं । कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ८ः३४ बजे ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो।
हालसम्म उक्त भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो। लगातार साना कम्पनहरू देखिनुले भूकम्पीय गतिविधि सामान्य अवस्थामा नै रहेको विज्ञहरूले बताएका छन्।

