काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक स्थगित भएको छ। उपाध्यक्ष रोशन सिंहसहितको टोली अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो।
नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण माग गर्दै सिंहसहित ८ जना बोर्ड सदस्यले गत जेठमा क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्र बुझाएका थिए। तर हालसम्म उक्त विवरण उपलब्ध नगराइएको भन्दै सिंहलगायत ८ बोर्ड सदस्यहरूले बैठक बहिष्कार गरेका स्रोतले जनाएको छ।
ज्ञापनपत्र बुझाउने सदस्यहरूमा रोशन सिंह, दुर्गा पाठक, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, प्रदीप मजगैया र जयन्ती भट्ट रहेका छन्। बैठकमा साधारण सभा, बजेट, वार्षिक कार्यक्रम र अडिट रिपोर्ट प्रमुख एजेन्डाका रूपमा रहेका थिए।
बैठक स्थगित भएपछि अब भोलि सोमबार बस्ने तय गरिएको छ। सबै सदस्यको सहभागिता सुनिश्चित गर्न बैठक सारिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्। “केही साथी बाहिर हुनुहुन्थ्यो, अनौपचारिक छलफल भने भयो। सबैको उपस्थिति होस् भनेर सोमबारका लागि आह्वान गरेका हौं,” उनले भने।

