काठमाडौं । सीता-बालमुकुन्द पोख्रेल प्रतिष्ठानले समाजसेवी डा. विजयालक्ष्मी श्रेष्ठ र साहित्यकार उमा सुवेदीलाई पुरस्कृत गरेको छ।
प्रतिष्ठानले बिहिबार राजधानीमा आयोजना गरेको समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमल निभाले श्रेष्ठ र सुवेदीलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका हुन्।

प्रतिष्ठानका अध्यक्ष सुरेश गाउँलेका अनुसार समाजसेवा र साहित्य विधातर्फ २०८२ सालका लागि छनोट गरिएका दुवै व्यक्तित्वलाई जनही २५ हजार २२५ रुपैयाँ राशि नगद सहित पुरस्कार प्रदान गरिएको हो।

चार दशकदेखि समाजसेवामा सक्रिय डा. विजयालक्ष्मी श्रेष्ठ सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएकी व्यक्तित्व हुन् भने उमा सुवेदी कविता, कथा, गीत, गजल र उपन्यास विधामा सक्रिय साहित्य साधना गर्दै आएकी स्रस्टा हुन्।
कवि प्रज्वल अधिकारीले सञ्चालन गरेको र कवि सुरेश गाउँलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार तथा समालोचक राजकुमार बानियाँले पुरस्कृत व्यक्तित्वहरूको योगदानबारे चर्चा गरेका थिए।
कार्यक्रममा प्रतिष्ठानकी प्रमुख संरक्षक तथा पूर्वाञ्चल बालसेवा आश्रमकी संस्थापक अध्यक्ष सीता पोख्रेलको पनि विशेष आतिथ्यता रहेको थियो। विशिष्ठ अतिथी पोख्रेलले जन्मले हुने उमेरभन्दा कर्मले पाएको उमेर महत्वपूर्ण हुने धारणा राखिन् ।
वि.सं. २०८१ मा स्थापित सीता-बालमुकुन्द पोख्रेल प्रतिष्ठानले अघिल्लो साल कवि कुन्ता शर्मा र समाजसेवी श्याम अधिकारीलाई सम्मान गरेको थियो ।

