काठमाडौँ । श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रमिक लक्षित तीन महत्वपूर्ण कार्यक्रमको घोषणा गरेका छन्।
मे दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै मन्त्री यादवले पहिलो चरणमा पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको जानकारी दिए। उक्त कार्यक्रममार्फत प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गरिने उनले बताए।
दोस्रो घोषणाअन्तर्गत विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह तथा समस्या समाधानलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी तथा कन्सुलरमार्फत हप्तामा एक पटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरे।
“अब तपाईंहरू जहाँ हुनुहुन्छ, सरकार तपाईंसँगै छ,” मन्त्री यादवको भनाइ थियो।
त्यसैगरी तेस्रो घोषणाअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई घडेरी खरिदका लागि ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको छ। साथै, नियमानुसार एक करोड ५० लाख रुपैयाँसम्म सापटी लिन सक्ने व्यवस्था समेत मिलाइएको उनले बताए।
मन्त्री यादवले नीतिगत सुधार, संस्थागत पुनर्संरचना र नवीन रोजगारी सिर्जनाका कार्यक्रमहरू पनि अगाडि बढाइएको जानकारी दिँदै श्रमको सम्मान नै देश विकासको आधार भएको बताए।
उनले निर्माण मजदुरदेखि चिकित्सक, किसानदेखि कानुन व्यवसायी, घरेलु श्रमिकदेखि इन्जिनियर र शिक्षकसम्म सबै राष्ट्र निर्माणका साझेदार श्रमिक भएको उल्लेख गर्दै एकअर्काको योगदानको मूल्यांकन, सम्मान र कृतज्ञताको संस्कार अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

