काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकले उपमहासचिव योगेश भट्टराईको वरीयताक्रम सच्याएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई तीन उपमहासचिवमध्ये तेस्रो वरीयतामा राख्ने प्रस्ताव गरेका थिए । तर सचिवालय बैठकले उक्त प्रस्ताव परिमार्जन गर्दै उनलाई दोस्रो वरीयता दिने निर्णय गरेको हो ।
यसअघि ओलीको प्रस्तावप्रति भट्टराई निकट नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाउँदै आएका थिए । नवौँ र दशौँ राष्ट्रिय महाधिवेशनबाट लगातार सचिव पदमा निर्वाचित भएका भट्टराई ११औँ राष्ट्रिय महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका हुन् । उनको वरिष्ठतालाई ध्यानमा राखेर सचिवालयले वरीयता सच्याएको बताइएको छ ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आइतबार सम्पन्न सचिवालय बैठकले उपमहासचिवहरूको नयाँ वरीयताक्रम टुंगो लगाएको हो । संशोधित वरीयताअनुसार अब लेखराज भट्ट पहिलो, योगेश भट्टराई दोस्रो र रघुवीर महासेठ तेस्रो नम्बरमा रहेकाछन् ।
यो निर्णयसँगै पार्टीभित्र वरीयतालाई लिएर देखिएको विवाद तत्कालका लागि समाधान भएको छ ।

