रुपन्देही । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रमा अलपत्र परेका ४५३ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको छ। भारतीय प्रहरीको समन्वय र सहयोगमा नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेर उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएका नेपालीहरूलाई आठवटा बसमार्फत शनिबार बिहान बेलहिया नाका हुँदै रुपन्देही ल्याइएको प्रहरीले जनाएको छ।
हाल उनीहरूको व्यक्तिगत विवरण तथा पहिचान खुलाउने काम भइरहेको छ। उद्धार गरिएकामध्ये करिब आधा संख्या महिलाको रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार रोजगारीलगायत विभिन्न प्रलोभनमा पारेर उनीहरूलाई भारतको कुशीनगर क्षेत्रमा लगेर राखिएको भन्ने सूचना प्राप्त भएपछि भारतीय प्रहरीसँग समन्वय गरी उद्धार अभियान सञ्चालन गरिएको हो।

