काठमाडौँ । उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल आसपास फैलिएको न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। तराईका भूभागमा भने आंशिक बदली देखिएको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही क्षेत्रमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यसैगरी, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईमा आंशिक बदली रहनेछ। अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनीको तराई र कोशी तथा बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।
मौसमविद्हरूले विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरी चल्न सक्ने चेतावनी दिँदै आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा अवलोकन गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

