काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासङ्घ र नेपाल जग्गा तथा आवास विकास सङ्घको संयुक्त आयोजनामा आगामी असोज १ गतेदेखि ४ गतेसम्म नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी आयोजना हुने भएको छ।
प्रदर्शनीबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका महासचिव रोशन भोयधोले ‘दिगोपनाका लागि हरियाली’ भन्ने मूल नाराका साथ प्रदर्शनी आयोजना गरिने जानकारी दिए।
‘आवासको हक र व्यवस्थित सहरीकरण’लाई केन्द्रमा राखेर आयोजना गरिने प्रदर्शनीको व्यवस्थापन सिआ इभेन्ट एसोसिएट्स प्रालिले गर्ने जनाइएको छ। महासचिव भोयधोले नेपालको संविधानले आवासलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रदर्शनीले सुरक्षित, व्यवस्थित र किफायती आवास विकासलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनका अनुसार घरजग्गा व्यवसायी र उपभोक्तालाई एउटै थलोमा जोड्दै नवीन प्रविधि, उत्पादन तथा बजारको वास्तविक अवस्थाबारे जानकारी गराउनु प्रदर्शनीको प्रमुख उद्देश्य हो।
प्रदर्शनीमा उत्पादन तथा सेवासम्बन्धी एक सयभन्दा बढी स्टल रहनेछन्। भवन, संयुक्त आवास तथा जग्गा विकासका ठूला परियोजनादेखि फलाम, स्टिल, सिमेन्ट, इँटा लगायत निर्माण सामग्री, विद्युतीय उपकरण, आधुनिक फर्निचर, पाइप तथा फिटिङ्स, सेनेटरी वेयर्स, पेन्ट्स, सेरामिक, सिसा, टायल, घर सजावटका सामग्री, नवीकरणीय ऊर्जा, बैंक तथा बिमा कम्पनीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरले हाल घरजग्गा क्षेत्रमा देखिएको मन्दीका बीच आयोजना हुन लागेको प्रदर्शनीले नेपालको रियल स्टेट क्षेत्रमा नयाँ उत्साह र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। उनले उपभोक्ताहरूले आफ्नो आवश्यकता, बजेट र रुचिअनुसार उपयुक्त घर वा जग्गा छनोट गर्ने अवसर प्राप्त गर्ने बताए।

