काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला अधिकारको संरक्षण, प्रवर्द्धन तथा सशक्तीकरणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको पूर्ण तथा प्रभावकारी कार्यान्वयन वर्तमान समयको प्रमुख आवश्यकता भएको उल्लेख गरिन्। मन्त्री बादीले लोकतन्त्र, सामाजिक न्याय, मानव अधिकार र राष्ट्रिय स्वाधीनताका आन्दोलनमा नेपाली महिलाले खेलेको भूमिका ऐतिहासिक र गौरवपूर्ण रहेको बताउँदै आज महिलाले प्राप्त गरेका अधिकारहरू लामो संघर्ष, त्याग र योगदानको प्रतिफल भएको धारणा राखिन्।
उनले नेपालको संविधानले महिलालाई समानता, सम्मान, सहभागिता र मौलिक हकको प्रत्याभूति गरेको उल्लेख गर्दै संविधानको धारा ३८ ले महिलामाथि हुने सबै प्रकारका विभेद र हिंसाको अन्त्य, सम्मानपूर्वक बाँच्न पाउने अधिकार, वंशीय हक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको हक र राज्यका सबै संरचनामा समानुपातिक तथा समावेशी सहभागिता सुनिश्चित गरेको बताइन्।
सरकारले शिक्षा, स्वास्थ्य, रोजगार, उद्यमशीलता, सामाजिक सुरक्षा तथा जीविकोपार्जन सुधारका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले महिला सशक्तीकरणलाई राज्यको प्राथमिकतामा राखिएको स्पष्ट पारिन्।
मन्त्री बादीले लैङ्गिक हिंसा, घरेलु हिंसा, यौनजन्य हिंसा, बालविवाह, छाउपडी, बोक्सी आरोप तथा दाइजो प्रथालगायत सबै प्रकारका विभेद र कुप्रथाको अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताइन्। उनले ग्रामीण तथा दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क आपत्कालीन हवाई उद्धार सेवा सञ्चालनमा रहेको जानकारी दिँदै महिला स्वास्थ्य र सुरक्षामा सरकार संवेदनशील रहेको उल्लेख गरिन्।
राजनीतिक र प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता निरन्तर बढिरहेको उल्लेख गर्दै मन्त्री बादीले हालको मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व ३७.५ प्रतिशत पुगेको जानकारी दिइन्।

