काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसजस्ता संस्थाहरूको संरक्षण अपरिहार्य रहेको बताएका छन् । लोकतान्त्रिक गणतन्त्र कमजोर भए जनताले सुखसमेत नपाउने उनको भनाइ छ ।
गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै ओलीले लोकतान्त्रिक गणतन्त्र नभएको अवस्थाको पीडा अघिल्लो पुस्ताले भोगिसकेको उल्लेख गरेका छन् ।
‘लोकतान्त्रिक गणतन्त्र नभए केके गुमाउनु पर्छ भन्ने कुरा गणतन्त्र नरहेका बेला मात्रै समाजले महसुस गर्न पाउँछ, जुन हाम्रो अघिल्लो पुस्ताले भोगेको थियो,’ ओलीले लेखेका छन्, ‘लोकतन्त्रमा संस्थाहरू कमजोर भए भने कुनै पनि समाज बलियो रहँदैन, जनताले सुख पनि पाउँदैनन् ।’
उनले लोकतन्त्रका संस्थाहरू कमजोर बने समाज र राष्ट्र दुवै कमजोर हुने उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रका सबै अंगहरूको संरक्षण आवश्यक रहेकोमा जोड दिएका छन् ।
ओलीले गणतन्त्र दिवसले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्षलाई स्मरण गराउने बताउँदै लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन सक्छ भन्ने विषयमा शान्त मनले चिन्तन गर्न सबैलाई आग्रह गरेका छन् ।
उनले आजभन्दा १८ वर्षअघि नेपाली जनताले आफ्नै निर्वाचित संविधानसभामार्फत गणतन्त्र घोषणा गरेको स्मरण गर्दै जनताले आफ्ना लागि आफैं शासन प्रणाली निर्धारण गर्ने अधिकार प्राप्त गर्न सात दशकभन्दा लामो संघर्ष गर्नुपरेको बताएका छन् ।
बोल्ने, लेख्ने, संगठित हुने तथा विचार राख्ने अधिकार स्थापित गर्न हजारौं अग्रजले बलिदान दिएको उल्लेख गर्दै ओलीले लोकतान्त्रिक अधिकार स्थापनाका लागि जीवन उत्सर्ग गर्ने अमर शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् ।

