काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ परिपक्व र परिणाममुखी बनाउन सबै पक्ष दृढ संकल्पका साथ अघि बढ्नुपर्ने बताएकी छन् ।
१९औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिका लागि कामना गरेकी छन् ।
गणतन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उनले राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल र आमनागरिकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यताहरूलाई अझ बढी प्रभावकारी र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले अब नेपालको राष्ट्रिय लक्ष्य सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय हुनुपर्ने उल्लेख गर्दै मुलुकको स्वाधीनता, राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबै जुट्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।
नेपालको राजनीतिक इतिहासमा जेठ १५ गते गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकी छन् । साथै नागरिक स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गरेकी छन् ।
भण्डारीले गणतन्त्र केवल शासन व्यवस्था परिवर्तनको विषय मात्र नभई नेपाली जनताको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउने माध्यम भएको उल्लेख गरेकी छन् ।
‘गणतन्त्रको वास्तविक सुन्दरता र सार्थकता तबमात्र झल्किन्छ, जब समाजको किनारामा रहेका विपन्न, उत्पीडित र सीमान्तकृत नागरिकले पनि “राज्य मेरो सहारा हो” र “म यो देशको सम्मानित नागरिक हुँ” भन्ने अनुभूति गर्न पाउँछन्,’ उनले सन्देशमा उल्लेख गरेकी छन् ।

