इनु लिम्बू
म यतिबेला न्यायका लागि बोलिरहेकी छु । यो मेरो रहर होइन, बाध्यता हो । तपाईलाई नंग्याउनु र मज्जा लिनु र त्यसमै रमाउनु मेरो उद्देश्य नभएर आजको मेरो सत्य उद्घाटन गर्नु हो ।
आफ्नो भए भरको जग्गा-जमिन धितो राखेर १८ लाख खर्च गरेर म जापान बस्न, घुम्न, टाइमपास गर्न आएको होइन । दु:ख गरेर लिएको ऋण तिरौंला, धेरथोर अरु रकम कमाउँला र आफ्नो लगायत परिवारको सपना पूरा गरौंला भनेर यो सपनाको देश जापानमा छिरेको हुँ । श्रम नै भएपछि पक्का हुन्छ भन्ने विश्वास थियो । यति बेला बुझ्दैछु- श्रम त केवल देखावटी खोस्टो रहेछ । केवल मजस्ता सोझासिधालाई फसाउने तपाईंजस्ता ठगहरूको लागि नयाँ लाइसेन्स रहेछ श्रम ।
मासिक २ लाख नेपाली रुपियाँ कमाई हुने श्रममा उल्लेख भएभन्दा थप आम्दानी हुने आशा त्यति बेला चकनाचुर भो, जतिबेला लगाएको कामबाट यातायात खर्च पनि न उठ्ने अवस्था आयो । अर्को काम मिलेन ।

पटक पटक सूचना पाएर पनि तपाईंले २० लाख ५० हजार (पछि २ लाख ५० हजार दिएको समेत)को दायित्व निभाउनु भएन । उल्टै ‘आफ्नो ज्यू ज्यू गरोस्, खुट्टा समाओस्’ भन्ने शैलीमा प्रस्तुत हुँदै अरु अरु नै मान्छे लाएर मेरो दिमाग चाट्ने मात्र काम गर्नु भो । मसित सिधा सम्पर्क गर्ने, यसो गरौं बहिनी, म यसो गर्छु कहिले पनि भन्नू भएन । यहि हो तपाईंको मानवियता ? यहि हो तपाईंको जिम्मेवारी ?
अझ पनि तपाईं मसित सम्पर्कमा हुनुहुन्न । मजस्ता समस्यामा परेकासित सम्पर्कविहीन हुनुहुन्छ । तर तपाईंका लठैतहरूसित सम्पर्कमा हुनुहुन्छ । यही पाराले चल्छ भन्ने सोच्नु भएको छ ? यस्तै पाराले तपाईंको इज्जत बढ्छ ? तपाईंलाई अलिकति आफ्नो इज्जतको डर छैन ? यदि छ भने म र मजस्तालाई पनि इज्जत गर्नोस् । किन ‘इनूले ज्यान जोगाएर राख्यो भन्नुहुन्छ ? तपाईंलाई के गर्ने चाहना छ ? कुट्नुहुन्छ ? मार्नुहुन्छ ? अर्थात् इज्जत लुट्नुहुन्छ ? खुल्लमखुल्ला भन्नोस् । हिम्मत छ ?
(नोट: प्रमाणका लागि सिटी स्क्वायर मल, सामाखुशीमा भएको छलफलको पूरा भिडियो सुरक्षित छ)
तपाईंको अभिव्यक्तिको आशय धम्काएर तह लगाउने हैन ? कति धम्काउनु हुन्छ ? कति थर्काउनु हुन्छ ? कतिलाई र कहिलेसम्म मजस्ता पीडितलाई धम्काउन चुल्ठेमुन्द्रे बोकेर हिड्नुहुन्छ ? आउनोस्, कहाँ को-को बोकेर आउनुहुन्छ ? कतिञ्जेल विभिन्न निकायमा भएका आफन्त प्रयोग गरेर कानून हातमा लिएर हिड्नुहुन्छ ?
जापानदेखि नेपाल, नेपालदेखि जापान कहाँ कहाँ बस्नुहुन्छ ? कि अर्कै देश जानुहुन्छ ? जहाँ बस्नोस्, जहाँ पुग्नोस् । यसरी अर्काको पैसामा आनन्दपूर्वक बस्न सक्नुहुन्छ ? कोटेश्वर, बन्दीपुर या लक्ष्मीबजार कुन ठाउँ पुग्न पर्छ मलाई विश्वास छ मेरो न्यायका लागि साथ दिनेहरू पुग्नुहुन्छ । न्यायका लागि आवाज उठाउँदै आएका मिडिया पुग्ने छन् । नेपालभित्र, नेपाल बाहिर जहाँ भए पनि चयनले बस्न सक्नुहुन्छ भन्ने मलाई लाग्दैन । म र म जस्तैका आसुँले अवश्य तपाईं र तपाईंको परिवारलाई पिरोल्छ ।
सबलाई नरबहादुर घले बनाउँछु भन्दै हिड्नुभएको रहेछ । को के बन्छ, हिसाबकिताब हुँदै जान्छ ।
( नोट: घले बनाउने ठाउँ पनि जाने हो ?, स्वयम्भू जाने कि बबरमहल ? अहिलेसम्म तपाईं जानुपर्ने ठाउँ जानू नै भएको छैन ?) अहिले म कतै नगएकै बेला भन्नुहोस् ।
मेरै कारण दु:ख पाएकी एक चेली हो, यसलाई थप दुख नदिउँ र आफु पनि भोलि आउने समस्याबाट आज नै टाढा हौं भनेर आउनुहुन्छ भने म पनि अझै दाइ भनेर श्रद्धापूर्वक दाइ मान्न तयार छु । मेरा लागि जे जति गर्नु भो त्यसका लागि धन्यवाद दिन तयार छु ।
धन्यवाद !

