काठमाण्डौ। मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि लागू भएको उक्त व्यवस्थाअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्।
नयाँ नियमले फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबलगायत प्रमुख सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्ने दायित्व दिएको छ। साथै, १६ वर्षभन्दा कम उमेरका व्यक्तिलाई नयाँ खाता खोल्न रोक लगाउनुका साथै यसअघि सञ्चालनमा रहेका त्यस्ता खाताहरू पहिचान गरी हटाउनुपर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ।
सरकारले जारी गरेको व्यवस्थाअनुसार नियम उल्लङ्घन गर्ने सामाजिक सञ्जाल कम्पनीलाई अधिकतम १ करोड मलेसियन रिंगिटसम्म जरिवाना गर्न सकिने प्रावधान राखिएको छ।
मलेसिया सरकारले बालबालिकालाई अनलाइनमार्फत फैलिने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाब तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउने उद्देश्यले यो कदम चालिएको जनाएको छ। पछिल्ला वर्षहरूमा डिजिटल माध्यमसँग सम्बन्धित जोखिम बढ्दै गएको निष्कर्षसहित सरकारले कडा नियमन आवश्यक भएको ठहर गरेको हो।
यद्यपि, बालबालिकाले विभिन्न उपाय अपनाएर नियम छल्दै खाता सञ्चालन गरेको अवस्थामा अभिभावकलाई कानुनी कारबाही नगर्ने स्पष्ट गरिएको छ। सरकारको मुख्य ध्यान सामाजिक सञ्जाल कम्पनीहरूलाई थप जिम्मेवार र उत्तरदायी बनाउनेतर्फ केन्द्रित रहेको बताइएको छ।
मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेट प्रविधिबाट टाढा राख्ने उद्देश्यले नभई उनीहरूका लागि सुरक्षित, स्वास्थ्य र उमेरअनुकूल डिजिटल वातावरण निर्माण गर्न ल्याइएको जनाएको छ।
बालबालिकाको अनलाइन सुरक्षाका लागि यस्तो कडा नीति लागू गर्ने देशहरूको सूचीमा मलेसिया पनि थपिएको छ। यसअघि अष्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले यस्तै प्रकारका कडा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियालगायतका देशहरू पनि यस्ता कानुनी व्यवस्था निर्माणको अन्तिम चरणमा रहेका छन्।

