काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्।
रास्वपाका अनुसार भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत गएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीहरूले प्रतिक्रिया मागे पनि उनले भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि विस्तृत रूपमा बोल्ने बताए ।

पार्टी प्रवक्ता मनिष झाले जारी गरेको जानकारीअनुसार भ्रमण आज जेठ १८ देखि २२ गते (जुन १–५) सम्म चल्नेछ। भ्रमणका क्रममा भारतको राजधानी नयाँदिल्लीमा विभिन्न राजनीतिक तथा कूटनीतिक व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यस अवधिमा लामिछानेले भाजपा नेतृत्व, भारतमा बसोबास गरिरहेका नेपाली समुदायका प्रतिनिधि तथा रास्वपाका शुभेच्छुकहरूसँग पनि छलफल गर्नेछन्। साथै, उनले अयोध्या को समेत भ्रमण गर्ने कार्यतालिका रहेको बताइएको छ।
रास्वपाले भ्रमणसम्बन्धी सम्पूर्ण समन्वय नयाँदिल्लीस्थित नेपाली दूतावास नयाँदिल्ली मार्फत भइरहेको जनाएको छ।

