काठमाडौं, जेठ १८ – विभिन्न महिला संघ–संगठनहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद् प्रतिनिधिसभाको बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।
आइतबार संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री शाहले संसद्को रोस्ट्रमबाट “भारतले मात्र होइन, नेपालले पनि धेरै ठाउँमा सीमा मिचेको रहेछ” भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै उक्त भनाइलाई आपत्तिजनक, तथ्यहीन, गैरजिम्मेवार, कूटनीतिक मर्यादाविपरीत, संविधानविपरीत तथा राष्ट्रिय हितविपरीत भएको बताएका छन्।
महिला संगठनहरूले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताविरुद्ध जाने कुनै पनि अभिव्यक्ति स्वीकार्य नहुने जनाउँदै प्रधानमन्त्रीसँग सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेका छन्।
विज्ञप्तिमा नेपाली महिलाहरूले इतिहासभर राष्ट्रिय स्वाधीनता र भू–अखण्डताको रक्षाका लागि महत्वपूर्ण योगदान दिएको स्मरण गराउँदै सम्पूर्ण महिला तथा आम जनसमुदायलाई राष्ट्रिय हितको पक्षमा एकजुट हुन आह्वान गरिएको छ।
साथै, प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर राष्ट्रिय भावनाको सम्मान गर्नुपर्ने चेतावनीसमेत दिइएको छ।
उक्त विज्ञप्तिमा अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संगठन, क्रान्तिकारी संगठन नेपाल, जनपक्षीय महिला संगठन नेपाल, वैज्ञानिक समाजवादी महिला संगठन नेपाललगायतका विभिन्न महिला संगठनका नेतृहरूको हस्ताक्षर रहेको छ।

