काठमाडौँ । आज देशका विभिन्न भूभागमा मौसम सामान्यतया बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ।
महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम खालको वर्षा वा हिमपात हुन सक्ने जनाएको छ। त्यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भू–भागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
मौसमविद्हरूले मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

