काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षको तुलनामा पाँच अर्ब रुपैयाँ बढी बजेट छुट्याइएको जानकारी दिए।
चालु आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको थियो।
सरकारले जलनका बिरामीको उपचार सेवामा सुधार ल्याउन विशेष प्राथमिकता दिएको छ। यसअन्तर्गत काठमाडौँस्थित वीर अस्पताल तथा कीर्तिपुर अस्पतालमा सञ्चालित जलन उपचार सेवाको क्षमता विस्तार गरिने घोषणा गरिएको छ।
सरकारको यो योजनाले गम्भीर जलनका बिरामीलाई थप प्रभावकारी र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

