काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्दै मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्नुपर्ने बताएका छन्।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने आदर्श वाक्यसहित मनाइँदै आएको यस दिवसले महिलाको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्दै लैङ्गिक समानतामा आधारित सभ्य समाज निर्माणका लागि प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा र असमानताको अन्त्य गरी सम्मानजनक तथा सुरक्षित समाज निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्। घर, समाज, कार्यस्थल तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न राज्य र नागरिक समाजबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
दिवसका अवसरमा महिला अधिकारको सुनिश्चितताका लागि योगदान पुर्याउने सबै व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै उनले महिलाको हकअधिकार स्थापनाका लागि भएका प्रयासको स्मरण गरेका छन्।
वि.सं. २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी चार महत्त्वपूर्ण विशेष प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै आएको छ। राष्ट्रपति पौडेलले यस दिवसले लैङ्गिक समानता र महिला अधिकारका पक्षमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई थप ऊर्जा र सम्मान प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
महिलाको श्रम, सीप, सिर्जनशीलता र क्षमतालाई विकासको मूलधारमा समाहित गर्दै आत्मनिर्भर बनाउने, स्रोत–साधन र अवसरमा समान पहुँच सुनिश्चित गर्ने तथा निर्णय प्रक्रियामा सहभागिता बढाउने उद्देश्यका साथ सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको उल्लेख गर्दै उनले शिक्षा, विज्ञान, प्रविधि, राजनीति, प्रशासन, कला र उद्यमका क्षेत्रमा नेपाली महिलाले उल्लेखनीय सफलता हासिल गरेको बताएका छन्।

