काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी का सह संयोजक माधव कुमार नेपाल ले कुनै पनि भ्रष्टाचारीलाई जोगाउनुपर्ने आवश्यकता नरहेको बताएका छन्।
काठमाडौँको महाराजगञ्जस्थित Auricle Events Hotel मा आयोजित अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै सह संयोजक नेपालले भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिनुपर्नेमा जोड दिए। उनले भ्रष्टाचारले देशको विकास, सुशासन र जनविश्वासमाथि गम्भीर असर पार्ने भएकाले कुनै पनि व्यक्तिलाई राजनीतिक वा अन्य कुनै आधारमा संरक्षण दिन नहुने बताए।
उनले नेपालको कम्युनिस्ट आन्दोलन महिला आन्दोलनसँग नजिकबाट जोडिएको उल्लेख गर्दै सामाजिक परिवर्तन, समानता र अधिकारको लडाइँमा महिलाहरूले महत्वपूर्ण भूमिका खेलेको बताए। “नेपालको कम्युनिस्ट आन्दोलन महिला आन्दोलनसँग जोडिएको छ,” उनले भने, “राजनीतिक परिवर्तनका प्रत्येक चरणमा महिलाहरूको योगदान स्मरणीय छ।”
नेपालले वर्तमान समाजमा व्यक्तिवाद प्रमुख समस्याका रूपमा देखा परेको उल्लेख गर्दै सामूहिक भावना र संगठनात्मक एकतालाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्नुपर्ने धारणा व्यक्त गरे।
महिलाहरू घरभित्रका जिम्मेवारीमा मात्र सीमित हुन नहुने भन्दै उनले देश, समाज र जनताको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे। महिला सहभागिता र नेतृत्व विकासले मात्रै लोकतन्त्र र सामाजिक न्यायलाई थप बलियो बनाउन सकिने उनको भनाइ थियो।
भेलामा देशभरबाट आएका महिला प्रतिनिधि तथा नेतृहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा महिला अधिकार, संगठन सुदृढीकरण, समावेशी विकास, सुशासन तथा वर्तमान राजनीतिक परिस्थितिका विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ।
सह संयोजक नेपालले प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय र समृद्धिको अभियानमा महिलाहरू अग्रपंक्तिमा उभिनुपर्ने आवश्यकता रहेको समेत बताए।

