काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका विदेशमन्त्री एस. जयशंकर बीच भेटवार्ता भएको छ।
भारत भ्रमणमा रहेका सभापति लामिछाने र विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेट भएको हो। मंगलबारको भेटका क्रममा नेपाल–भारत सम्बन्ध, विकास साझेदारी तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।
विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन्। उनले दुई देशबीचको विकास साझेदारी र जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा केन्द्रित भएर छलफल भएको उल्लेख गरेका छन्।
जयशंकरले विकास र समृद्धिलाई प्रवर्द्धन गर्न यस्ता सम्बन्धहरूको भूमिका महत्त्वपूर्ण रहने विश्वाससमेत व्यक्त गरेका छन्। भारत भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय नेतृत्वका विभिन्न उच्च अधिकारीहरूसँग भेटघाटलाई निरन्तरता दिएका छन्।

