काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब तथा पारिश्रमिकमा वृद्धि गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको हालको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि हुने व्यवस्था गरिएको घोषणा गरेका हुन्।
सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले ग्रेडसहितको न्यूनतम मासिक पारिश्रमिक ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँभन्दा माथिसम्म पुग्ने गरी नयाँ तलबमान निर्धारण गरिएको जानकारी दिए।
अर्थमन्त्री वाग्लेका अनुसार कर्मचारीले हाल प्राप्त गर्दै आएको महँगी भत्तालाई यथावत् राख्दै सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको छ। साथै कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुआत गर्न नयाँ तलबमानको १० प्रतिशत बराबर मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उनले बताए।
पछिल्ला चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि नभएको तथा यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कका आधारमा मूल्यवृद्धि १७.३ प्रतिशत पुगेको उल्लेख गर्दै मन्त्री वाग्लेले कर्मचारीको मर्यादित जीवनयापन सुनिश्चित गर्न पारिश्रमिक सुविधा पुनःस्थापना गर्ने उद्देश्यले तलब वृद्धि गरिएको स्पष्ट पारेका छन् ।

