सर्लाही । नेपाली कम्युनिष्ट पार्टी सर्लाहीको केन्द्रीय कमिटी सदस्य परामर्श बैठक सम्पन्न भएको छ। मलङ्ग्वास्थित जानकी पार्टी प्यालेसमा २०८३/०२/२४ गते सम्पन्न बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, सुदृढीकरण तथा आगामी कार्यदिशाका विषयमा गम्भीर छलफल भएको थियो।
बैठकले पार्टीलाई थप व्यवस्थित, सशक्त र जनमुखी बनाउँदै जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। जिल्ला नेतृत्व र इन्चार्जको तत्काल टुङ्गो लगाउने, भूगोलमा सक्रिय भएर काम गर्ने जिम्मेवारी निर्धारण गर्ने विषय बैठकमा विशेष रूपमा उठाइएको थियो।
त्यस्तै पार्टीका गतिविधि तथा कार्यक्रमलाई प्रभावकारी रूपमा जनतामाझ पुर्याउन सूचना प्रविधि (आई.टी.) निकाय गठन गर्ने र सामाजिक सञ्जालमार्फत पार्टीका नीति, कार्यक्रम तथा गतिविधि प्रचार–प्रसार गर्ने निर्णयसमेत एकमतले पारित गरिएको छ।
बैठकको अध्यक्षता मधेस प्रदेशका सह–इन्चार्ज कमरेड राम कुमार भट्टराईले गर्नुभएको थियो भने प्रदेश इन्चार्ज कमरेड महेन्द्र रायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
बैठकमा केन्द्रीय कमिटी सदस्य तथा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय अनुगमन तथा मूल्याङ्कन विभागका उपप्रमुख कमरेड कल्याणी खड्का, नेताहरू प्रलाद बुढाथोकी, रविन्द्रा बैठा, प्रदेश सांसद बैची लुङ्गेली, राधेश्याम पासवान, सुरेन्द्र लामा, कमल सी, अम्बिका वाईवा लगायतको उपस्थिति रहेको थियो।
बैठकले पार्टी संगठनलाई थप गतिशील बनाउँदै स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने र जनताका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने निष्कर्ष निकालेको छ।

