काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रा.लि., ग्वार्को–ललितपुरबीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले बी एण्ड बी अस्पतालबाट उपलब्ध गराइने इनपेसियन्ट, आउटपेसियन्ट, आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा १० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन् ।
ग्राहकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै कुमारी बैंकले देश तथा विदेशका विभिन्न प्रतिष्ठित स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै आएको जनाएको छ । यस्ता सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने बैंकको विश्वास छ ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर रहेका २८६ शाखा, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाईहरू मार्फत आधुनिक, सुरक्षित र भरपर्दो सेवा दिँदै आएको छ ।
बदलिँदो आवश्यकता अनुसार सेवा विस्तार र ग्राहक सुविधा अभिवृद्धिलाई प्राथमिकतामा राख्दै बैंकले आगामी दिनमा थप प्रभावकारी र सहज सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

