काठमाडौँ – ‘फिफा विश्वकप–२०२६’ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ। बुधबार बिहान सम्पन्न प्रि–क्वार्टरफाइनल अन्तर्गत स्वीट्जरल्यान्ड र कोलम्बियाबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको हो।
प्रि–क्वार्टरफाइनलका सबै खेल सकिएसँगै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने आठ टोली र उनीहरूका प्रतिद्वन्दीसमेत तय भएका छन्।
यसपटक क्वार्टरफाइनलमा युरोपका सर्वाधिक ६ टोलीले स्थान बनाएका छन् भने दक्षिण अमेरिका र अफ्रिकाबाट एक–एक टोली मात्र अन्तिम आठमा पुग्न सफल भएका छन्।
कीर्तिमानी पाँच पटकको विश्वविजेता ब्राजिलसँगै प्रतियोगिताका तीनै सहआयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडा अन्तिम १६ बाटै बाहिरिएका छन्। त्यस्तै, क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि प्रि–क्वार्टरफाइनल पार गर्न असफल रह्यो।
साविक विजेता अर्जेन्टिनासहित पूर्व विश्वविजेता फ्रान्स, स्पेन र इंग्ल्यान्डले भने सफलतापूर्वक क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। अब विश्वकप उपाधि दौड थप प्रतिस्पर्धात्मक बन्ने खेलप्रेमीको अपेक्षा छ ।

