काठमाडौँ। अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टम)ले इरानविरुद्धको पछिल्लो सैन्य कारबाही सम्पन्न भएको जनाउँदै ८० भन्दा बढी सैन्य लक्ष्यमा सटीक हतियार प्रयोग गरी आक्रमण गरिएको जनाएको छ।
सेन्टमका अनुसार आक्रमण इरानको हवाई प्रतिरक्षा प्रणाली, कमाण्ड एन्ड कन्ट्रोल नेटवर्क, तटीय राडार केन्द्र, जहाजविरोधी मिसाइल प्रणाली तथा इरानी सेना आइआरजिसीका स्ट्रेट अफ हर्मुज वरपर रहेका ६० भन्दा बढी साना डुङ्गालाई लक्षित गरी गरिएको हो।
अमेरिकाले हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेका तीनवटा व्यावसायिक जहाजमाथि भएको कथित इरानी आक्रमणको प्रतिकारस्वरूप उक्त सैन्य कारबाही गरिएको दाबी गरेको छ। सेन्टमका अनुसार अन्तर्राष्ट्रिय व्यापारिक जलमार्गमा इरानले आक्रमण गर्न सक्ने क्षमतालाई कमजोर बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।
यद्यपि, ती तीन व्यावसायिक जहाजमाथिको आक्रमण आफूले गरेको भन्ने अमेरिकी आरोपलाई इरानले अहिलेसम्म न पुष्टि गरेको छ, न त खण्डन नै गरेको छ ।
यसैबीच, इरानी सैन्य नेतृत्वले अमेरिकी कारबाहीलाई स्पष्ट आक्रमणको संज्ञा दिँदै यसको कडा प्रतिकार गरिने चेतावनी दिएको छ।

