काठमाडौं । नबिल बैंकले नेपाल र भारतबीचको व्यक्तिगत (पर्सन–टु–पर्सन) डिजिटल रेमिट्यान्सलाई सहज बनाउने उद्देश्यले नेपाल–भारत–नेपाल क्रस–बोर्डर पी२पी रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। यो सेवामार्फत दुवै देशका ग्राहकले सुरक्षित डिजिटल माध्यमबाट तत्काल रकम पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन्।
नयाँ सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी भारतमा रहेका परिवार तथा साथीभाइलाई सजिलै रकम पठाउन सक्नेछन्। त्यस्तै, नेपाली तथा भारतीय नागरिकहरूले नेपालमा रहेका नबिल बैंकका ग्राहकलाई छिटो र सहज रूपमा रकम पठाउन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सीमापार भुक्तानीलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा यो सेवा महत्वपूर्ण कदम भएको बताए। उनका अनुसार यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङको पहुँच विस्तार गर्दै ग्राहक सुविधालाई थप मजबुत बनाउनेछ।
बैंकका अनुसार नियामकीय व्यवस्थालाई ध्यानमा राख्दै सेवामा सीमा निर्धारण गरिएको छ। नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम भारतीय रुपैयाँ १५ हजार तथा मासिक अधिकतम भारतीय रुपैयाँ १ लाखसम्म पठाउन सक्नेछन्। भारतबाट नेपालतर्फ रकम पठाउँदा भने दैनिक अधिकतम भारतीय रुपैयाँ २ लाखसम्म पठाउन सकिनेछ।
यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) को सहकार्यमा सञ्चालन गरिएको हो। यसले नेपाल–भारतबीचको डिजिटल कारोबारलाई थप सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ।
नबिल बैंकले देशभर २६६ शाखा र ३१८ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकले चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै बैंकले एनबैंकमार्फत आधुनिक बैंकिङ सेवासमेत विस्तार गरिरहेको छ।

