काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गर्दै ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको एटलान्टा स्टेडियममा आज सम्पन्न खेलमा इजिप्टले सुरुआतमै अग्रता बनाए पनि अर्जेन्टिनाले अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रोमाञ्चक जित निकालेको हो।
खेलको १५औँ मिनेटमा यासेर इब्राहिमले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि ६७औँ मिनेटमा मुस्तफा जिकोले अर्को गोल थपेपछि इजिप्ट २–० को बलियो अवस्थामा पुगेको थियो।
तर त्यसपछि अर्जेन्टिनाले आक्रामक खेल प्रस्तुत गर्यो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर २–१ मा झारे। त्यसको चार मिनेटपछि ८३औँ मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्याए।
निर्धारित ९० मिनेटपछि थपिएको अतिरिक्त समयको तेस्रो मिनेट (९०+३) मा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए।
यस जितसँगै अर्जेन्टिनाले विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ भने इजिप्टको यात्रा प्रि–क्वाटरफाइनलमा टुङ्गिएको छ।

