काठमाण्डौ । इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली पूर्ण रूपमा सक्रिय रहेको दाबी गर्दै एक अमेरिकी अत्याधुनिक एमक्यिु–९ रिपर ड्रोन तथा एउटा हेलिकोप्टर खसालेको जनाएको छ।
इरानी सेनाका अनुसार खसालिएको एमक्यिु–९ रिपर ड्रोनको मूल्य करिब ३० देखि ३४ मिलियन अमेरिकी डलर पर्छ, जसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा झण्डै ४ अर्ब ५० करोड रुपैयाँ बराबर हुन आउँछ।
त्यसैगरी इरानी सेनाले अघिल्लो दिन पनि एउटा अमेरिकी अपाचे हेलिकोप्टर खसालेको दाबी गरेको थियो। तर पछिल्लो घटनामा खसालिएको हेलिकोप्टर कुन देशको हो भन्ने स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।
एमक्यिु–९ रिपर ड्रोन अमेरिकी सेनाले निगरानी, गुप्तचर सूचना संकलन तथा आक्रमणका लागि प्रयोग गर्ने अत्याधुनिक मानवरहित हवाई यन्त्र हो।
ड्रोनलाई बुशेहर नजिक खसालिएको दाबी गरिएको छ। बुशेहर फारसको खाडी क्षेत्रमा पर्ने महत्वपूर्ण सामरिक क्षेत्र हो, जुन होर्मुज जलमार्ग नजिक पर्छ र विश्व ऊर्जा आपूर्तिका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ।
यस्तै, इरानले जोर्डनस्थित अमेरिकी सैन्य बेस तथा बहराइनमा समेत आक्रमण गरेको दाबी गरेको छ। यस विषयमा हालसम्म सम्बन्धित पक्षहरू अमेरिकाबाट स्वतन्त्र पुष्टि भने भएको छैन।

