काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। साथै उनले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्, जसपछि औपचारिक छलफल अघि बढ्नेछ।
बैठकको कार्यसूची अनुसार सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनेछन्। साथै कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयनसम्बन्धी जानकारी र वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रियसभाबाट समयसीमाभित्र फिर्ता नभएको विषय पनि सभालाई जानकारी गराइनेछ।
त्यसैगरी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभाबाट आएको ‘चलचित्र विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
तर पछिल्ला केही दिनदेखि प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति फिर्ता लिएर रोष्ट्रमबाट माफी नमागेसम्म बैठक सञ्चालन हुन नदिने अडान कायम राखेका छन्।
यस कारण आजको बैठक पनि सुचारु हुने सम्भावना न्यून रहेको बताइएको छ, जसले गर्दा संसदको कामकारबाही फेरि प्रभावित हुने सम्भावना छ।

