मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धारा ढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो जिप एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो जिप शुक्रबार एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा बोलेरोका चालकसहित दुवै सवारी साधनमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको बताइएको छ।
प्रहरीका अनुसार घाइते सबैलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

