काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व चयनका लागि आज आइतबार हुने विशेष साधारणसभा तथा निर्वाचनमा तीनवटा छुट्टाछुट्टै प्यानलबीच कडा प्रतिस्पर्धा हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयले संघको कार्यसमिति विघटन गरेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो। संघको आगामी कार्यकालका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) तथा राष्ट्रिय स्वतन्त्र पार्टी निकट व्यवसायी समूहले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको तर्फबाट भुर्तेल नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ।
यस्तै, संघका पूर्व प्रथम उपाध्यक्ष खत्रीले एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको तर्फबाट उम्मेदवारी दिएका छन्। उनको समूहमा कांग्रेस निकट लोकतान्त्रिक समूहका असन्तुष्ट व्यवसायीहरू समेत आबद्ध रहेका छन्।
अर्कोतर्फ, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्व प्रथम उपाध्यक्ष हरि पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आस्था राख्ने व्यवसायीहरूलाई समेटेर छुट्टै प्यानल खडा गरेका छन्।
संघको सात पदाधिकारी र १० सदस्यसहित कुल १७ पदका लागि तीनवटै प्यानलबाट ५१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन कार्यक्रमअनुसार आज आइतबार बिहान ११ बजेदेखि मतदान प्रक्रिया सुरु हुने जनाइएको छ। नयाँ नेतृत्व चयनका लागि हुने यस प्रतिस्पर्धालाई व्यवसायी वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

