बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत एक युवा मजदुरको कामकै क्रममा भएको दुर्घटनामा मृत्यु भएको छ।
ताराखोला गाउँपालिका–५ धस्मरस्थित आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका–३ का २० वर्षीय दिलबहादुर विकको उपचारका क्रममा ज्यान गएको हो।
प्रहरीका अनुसार डोजरबाट खसेको फलामे पाइपले च्यापिएर गम्भीर घाइते भएका विकलाई तत्काल उपचारका लागि गलकोट नगरपालिका–३ हटियास्थित इमर्जेन्सी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा शनिबार दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणिन्द्रप्रसाद प्रसाईंले जानकारी दिए।
घटनापछि डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक विकको शव हाल अस्पतालमा नै राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

