पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको नयाँ नेतृत्व चयनका लागि सम्पन्न जिल्ला अधिवेशनमा यदुनाथ अधिकारी अत्यन्तै प्रतिस्पर्धात्मक मत परिणामसहित सभापतिमा पुनः निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एकराज न्यौपानेलाई केवल एक मतले पछि पार्दै नेतृत्वको जिम्मेवारी पुनः आफ्नो पक्षमा सुरक्षित गरेका हुन्।
शनिबार सम्पन्न निर्वाचनमा अधिकारीले ११५ मत प्राप्त गर्दा न्यौपानेले ११४ मत पाए। निर्वाचन अधिकृत शंकर पन्तका अनुसार दुवै उम्मेदवारबीच अन्तिमसम्म कडा प्रतिस्पर्धा देखिएको थियो।
नवनिर्वाचित अधिकारी यसअघि पनि रास्वपा कास्कीको सभापति रहिसकेका व्यक्ति हुन् भने उनका प्रतिस्पर्धी न्यौपाने पार्टीको प्रदेश जनसम्पर्क विभाग प्रमुखको जिम्मेवारीमा थिए।
यस्तै, सचिव पदमा विश्वराज पौडेल विजयी भएका छन्। उनले १२२ मत प्राप्त गर्दै टेकराज सापकोटालाई पराजित गरेका हुन्। सापकोटाको पक्षमा १०५ मत परेको थियो।
सदस्य पदतर्फ भेषराज तिमिल्सिना, लक्ष्मी पौडेल, श्याम गुरुङ र सीता चापागाईं निर्वाचित भएका छन्। सभापति, सचिव तथा चार सदस्य पदमा निर्वाचन भएको भए पनि बाँकी पदमा भने सर्वसम्मत नेतृत्व चयन गरिएको थियो।
पार्टीका प्रदेश महामन्त्री नवीन त्रिपाठीका अनुसार जिल्ला उपसभापतिमा चिनु गुरुङ, सहसचिवमा सुजन वस्ताकोटी तथा सदस्यहरूमा श्रवणराज जमरकट्टेल, चित्रबहादुर क्षेत्री, राजकुमार भण्डारी र दलित महिला सदस्यमा लक्ष्मी परियार निर्विरोध चयन भएका छन्।
रास्वपा कास्कीको १९ सदस्यीय जिल्ला समितिमा १२ जना निर्वाचित प्रतिनिधिबाट आउनेछन् भने दुई सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ। यसबाहेक जिल्लाभित्रका पाँचवटै स्थानीय तहका समिति सभापति पदेन सदस्य रहने प्रावधान रहेको त्रिपाठीले जानकारी दिए।
अधिवेशनका लागि २९५ जना प्रतिनिधि छनोट गरिए पनि मतदानमा २३३ मत मात्रै खसेको थियो।
पार्टीको निर्वाचन कार्यविधिअनुसार पालिका अधिवेशनबाट एक महिलासहित चार प्रतिनिधि, पालिका समिति, जिल्ला समिति तथा जिल्ला समितिभन्दा माथिल्ला संरचना र विभागमा रहेका पदाधिकारीहरू जिल्ला अधिवेशनका प्रतिनिधि रहने व्यवस्था छ। सोही आधारमा प्रतिनिधि चयन गरिएको रास्वपाले जनाएको छ।
अधिवेशनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले गरेका थिए। उनले अधिवेशनले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए।

