काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी जेठ ३१ गते चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्ने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी बेइजिङतर्फ जाने कार्यक्रम तय भएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।
यसैगरी, मन्त्री खनालले चीनका विभिन्न उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा समेत मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनका क्रममा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग अन्तरक्रिया र छलफल गर्ने कार्यसूची रहेको छ।
भ्रमणको अवसरमा बेइजिङस्थित नेपाली दूतावासले मन्त्री खनालको सम्मानमा स्वागत समारोह आयोजना गर्नेछ। उक्त कार्यक्रममा उनले चीनस्थित नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्नेछन्।
परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

