काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। केही हिमाली क्षेत्रमा हिमपातको समेत अनुमान गरिएको छ।
आज बिहान ८ बजे जारी मौसम बुलेटिनअनुसार हाल सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै बाँकी तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने मधेश प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
महाशाखाका अनुसार राति कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। अन्य पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनीसमेत दिइएको छ।
काठमाडौंमा दिउँसोपछि वर्षाको सम्भावना
मौसमविद् सरोज पुडासैनीका अनुसार आज काठमाडौँ उपत्यकामा दिउँसोपछि हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
उनका अनुसार बिहान उपत्यकाको आकाशमा आंशिकदेखि सामान्य बदली देखिए पनि केही समयपछि मौसम खुल्ने सम्भावना छ। तर दिउँसो करिब २ बजेदेखि पुनः बादल विकास भई वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद् पुडासैनीले आज काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना करिब ४० प्रतिशत रहेको जानकारी दिएका छन्।

